फानिज मोरङले २६ औं स्थापना दिवस मनायो : पत्रकार राई पुरस्कृत, डिजिटल यात्राको शुभारम्भ
फानिज मोरङले २६ औं स्थापना दिवस मनायो : पत्रकार राई पुरस्कृत, डिजिटल यात्राको शुभारम्भ
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६ औँ स्थापना दिवस मोरङ शाखाले एक विशेष कार्यक्रमका बीच मनाएको छ । विराटनगरको हिमालय दर्शन कलेजको सभाहलमा सोमबार आयोजित समारोहमा पत्रकारिता पुरस्कार अर्पण र संस्थाको आधिकारिक वेबसाइट शुभारम्भ गर्दै स्थापना दिवस मनाएको हो ।
‘कृष्ण देवान पत्रकारिता पुरस्कार’ फोनिजका केन्द्रीय उपाध्यक्ष समेत रहेका क्रियाशील पत्रकार अर्जुन जम्नेली राईलाई प्रदान गरियो । फोनिज प्रदेश १ का लेखा समिति संयोजक प्रेम देवानले आफ्ना स्वर्गीय बुवा कृष्ण देवानको स्मृतिमा स्थापना गरेको यो पुरस्कार पहिलो पटक वितरण गरिएको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पत्रकार राईलाई ८ हजार रुपैयाँ नगद राशि र सम्मानपत्रसहित पुरस्कृत गरे ।
स्थापना दिवसकै अवसरमा फोनिज मोरङले आफ्नो डिजिटल उपस्थितिलाई सशक्त बनाउँदै आधिकारिक वेबसाइटको शुभारम्भ ग¥यो । उक्त वेबसाइट हिमालय दर्शन कलेजमा बिएससी सिएसआइटीमा अध्ययनरत विद्यार्थीहरूले निर्माण गरी फोनिजलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि, महानगर प्रमुख कोइरालाले वेबसाइटको शुभारम्भ गर्दै आजको युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को भएको उल्लेख गरे । उनले भने, ‘अबको समय प्रविधिको हो । समयसापेक्ष आफूलाई परिमार्जन र विकास गर्न नसक्ने व्यक्ति तथा संस्थाहरू पछाडि पर्छन् । फोनिज मोरङले सुरु गरेको यो डिजिटल यात्रा सराहनीय छ ।’
कार्यक्रममा बोल्दै हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटाले फोनिजसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक कार्यहरूमा सधैँ तयार रहने प्रतिबद्धता जनाए ।
पुरस्कृत व्यक्तित्व तथा फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईले ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नीतिको लक्ष्य प्राप्तिका लागि महासंघ निरन्तर अगाडि बढिरहेको बताए । कार्यक्रममा फोनिज प्रदेश १ का अध्यक्ष विजयबोध लावती, नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, लिम्बु पत्रकार संघका केन्द्रीय सदस्य सुजता लिम्बुलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन मन्तब्य राख्दै उनले संस्थालाई प्रविधिमैत्री बनाउने आफ्नो कार्यकालको योजनाले सार्थकता पाएको बाए । ‘हामीले कार्यसमितिमा आउँदा फोनिज मोरङलाई परम्परागत शैलीबाट एक कदम अगाडि बढाएर प्रविधिसँग जोड्ने संकल्प लिएका थियौँ । आज यो वेबसाइट शुभारम्भसँगै त्यो यात्रा सुरु भएको छ,’ फोनिज अध्यक्ष श्रेष्ठले भने, ‘यो केवल एउटा वेबसाइट मात्र होइन, यो आदिवासी जनजातिका आवाजलाई विश्वव्यापी रूपमा पु¥याउने हाम्रो प्रतिबद्धताको डिजिटल प्रतीक हो । आगामी दिनमा हामी यस्तै रचनात्मक र प्रभावकारी कार्यक्रममार्फत आदिवासी जनजाति पत्रकारहरूको क्षमता अभिवृद्धि र समुदायको हकहितमा अझ दृढतापूर्वक अघि बढ्नेछौँ ।’
कार्यक्रमको सञ्चालन सचिव विद्यानन्द चौधरीले गरेका थिए भने प्रेस यूनियन प्रदेश १ का अध्यक्ष मिनकुमार नवदित, संसदीय पत्रकार संघ प्रदेश १ का उपाध्यक्ष गोकुल पराजुली, प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापा वेबसाइट संयोजक राजेश कुमार राजवंशी लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूकोे उपस्थिति रहेको थियो ।