दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, २ लाख ४२ हजारलाई शेयर

विराटनगर । दरमखोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बाँडफाँड गरिएको छ। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो।

बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न बाँडफाँड अनुसार २ लाख ४२ हजार ३१८ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। साथै ५ जनाले थप एक कित्ता पाई कुल ११ कित्ता आईपीओ हात पारेका छन्।

कम्पनीको आईपीओमा २२ लाख ९६ हजार ४६५ वटा आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ आवेदन मात्र सदर भएका छन्। बाँकी १३ हजार २३९ आवेदन विभिन्न कारणले बदर भएका हुन्।

आइपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ।

Add a Comment