इन्डोनेसियाको सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प, २९ घाइते

विराटनगर । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तस्थित पोसो रिजेन्सीमा आइतबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पबाट कम्तीमा २९ जना घाइते भएको इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय (BNPB) ले जनाएको छ ।

मौसम विज्ञान, जलवायु विज्ञान तथा भूभौतिकी निकाय (BMKG) का अनुसार स्थानीय समयानुसार बिहान ५ः३८ बजे भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु पोसो रिजेन्सीबाट करिब १८ किलोमिटर उत्तर–पश्चिममा रहेको र जमिनको १० किलोमिटर गहिराइमा भएको पुष्टि गरिएको छ ।

पोसो पेसिसिर जिल्लामा भूकम्पको सबभन्दा ठूलो धक्का महसुस गरिएको थियो । मसानी, टोकोरोन्डो, तोउ, पिनेडापा, ताङ्कुरा र लापे गाउँहरूमा करिब १५ सेकेन्डसम्म भूकम्प चलेको स्थानीय बासिन्दाहरूले बताएका छन् । शक्तिशाली कम्पनका कारण स्थानीयहरू सुरक्षाको लागि घरबाहिर निस्कन बाध्य भएका थिए ।

हालसम्म भूकम्पले ठूलो क्षति नभएको बताइएको छ, तर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।

Add a Comment