मेलवर्न स्टार्स एकेडेमीविरुद्ध जितका लागि नेपाललाई १७६ रनको लक्ष्य
विराटनगर। अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले मेलवर्न स्टार्स एकेडेमीविरुद्ध जितका लागि १७६ रनको लक्ष्य पाएको छ।
डार्विनस्थित मर्रारा स्टेडियममा सोमबार बिहान भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मेलवर्न स्टार्स एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रनको योगफल बनाएको हो।
एकेडेमीका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए भने थोमस रोजर्सले ६५ रनको योगदान गरे। अन्य ब्याटरले भने उल्लेख्य स्कोर बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट झारे।
जवाफी ब्याटिङ थालेको नेपालले ४ ओभरमै दुई विकेट गुमाइसकेको छ। ओपनर कुशल भूर्तेल २५ रन बनाएर आउट भए भने भीम सार्की मात्र २ बल खेलेर पभेलियन फर्किए। अहिले क्रिजमा आशिफ शेख र कप्तान रोहित पौडेल छन्।
यसअघि खेलिएका दुवै खेलमा पराजित भएको नेपालले आज पहिलो जितको खोजी गरिरहेको छ।