हमासको बन्धक विपिन जोशीको सुरक्षामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले विपिनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकार निरन्तर कूटनीतिक पहलमा जुटिरहेको जानकारी दिएका हुन्। उनका अनुसार हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इसराइल पुगेका छन् र त्यहाँ राष्ट्रपति इसहाक हर्गोग तथा संसद अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइका लागि आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले यसअघि पनि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग फोन संवाद गरी विपिनको रिहाइबारे ध्यानाकर्षण गराएको स्मरण गराए।

परराष्ट्र मन्त्रालयमार्फत खाडी क्षेत्रका दूतावासहरूले समेत निरन्तर संवाद गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले भने, “विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा सरकार जुटिरहेको छ।”

यससँगै उनले इसराइलमा सहयोग गरिरहेका नेपाली, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताप्रति आभार प्रकट गर्दै विपिनको परिवारलाई ढाडस दिएका छन्।

Add a Comment