अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीमा नेपाली मनीष तिम्सिना गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगर । विराटनगरका मनीष तिम्सिनालाई अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ। उक्त जानकारी तिम्सिनाले आफैं सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।

विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक पनि हुन्।

अफगानिस्तान फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो एनेसले उनलाई नियुक्त गर्ने निर्णय गरेका हुन्। एनेस नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत हुन्।

यसअघि तिम्सिनाले भारतको गोकुलम केरेला क्लब र नेपालको राष्ट्रिय फुटबल टोलीमा गोलकिपर प्रशिक्षकको भूमिकामा अनुभव जुटाइसकेका छन्।

उनको यो नियुक्तिलाई नेपाली फुटबल क्षेत्रमा ठूलो उपलब्धि र गौरवका रूपमा हेरिएको छ।

Add a Comment