“विराटनगरको न्यूरो कार्डियो अस्पताल २५ वर्षमा प्रवेश, रजत महोत्सवमा सहुलियत र शाखा विस्तार योजना”

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गर्न लागेको छ। आगामी भाद्र ८ गतेदेखि सुरु हुने रजत महोत्सवका क्रममा अस्पतालले बिरामीलाई विभिन्न सहुलियत प्रदान गर्ने र सामाजिक–स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. विरेन्द्र विष्ट र अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै महोत्सवसम्बन्धी जानकारी दिएका हुन्। भट्टराईका अनुसार हाल अस्पतालमा डाक्टर, नर्ससहित करिब ६५० जना कर्मचारी कार्यरत छन्। नेपाल सरकारसँग २५० शय्याको अस्पताल सञ्चालन गर्न अनुमति लिए पनि हाल १५० शय्याको मान्यता पाई सेवा दिइरहेको उनले जानकारी दिए।

रजत महोत्सवको अवसरमा बिरामीलाई सहुलियत दिने मात्र नभई अस्पतालले शाखा विस्तारको योजना पनि अघि सारेको छ। झापामा जग्गा खरिद भइसकेको र अस्पताल निर्माण प्रक्रियामा रहेको बताउँदै उनले निकट भविष्यमा सिराहा र सुनसरीमा पनि शाखा विस्तार गरिने जानकारी दिए।

डा. विष्टका अनुसार अस्पतालको यात्रा २०५७ साल भाद्र ८ गते ‘न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को स्थापना सँगै सुरु भएको हो। पछि २०६२ असोज १ गतेदेखि यसलाई ‘न्यूरो अस्पताल’ मा रूपान्तरण गरिएको थियो।

हाल न्यूरो कार्डियो अस्पतालले न्यूरोलोजी, मुटु रोग, स्त्री तथा प्रसूति, मानसिक रोग, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी, न्यूरो सर्जरी, हाडजोर्नी, सामान्य शल्यक्रिया तथा ल्याप्रोस्कोपिक, नवजात शिशु तथा बाल स्वास्थ्य, नाक–कान–घाँटी, युरोलोजी र नेत्र रोग लगायतका सेवा प्रदान गर्दै आएको छ।

अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक रहेको भट्टराईले बताए।

Add a Comment