मेयर कोइराला र इजरायली राजदूत बासबीच भेटवार्ता
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली युवाको सुरक्षा र रोजगारीका अवसरलगायत विविध विषयमा गम्भीर छलफल भएको हो । भेटवार्तामा उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसमेत सहभागी थिए । वार्ताको केन्द्रमा हाल हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि भइरहेको प्रयास, सूचना प्रविधि तथा कृषि क्षेत्रमार्फत नेपाली युवालाई इजरायलमा रोजगारीका अवसर दिलाउने विषयहरू प्रमुखताका साथ उठाइयो ।
राजदूत बासले विराटनगर महानगर र इजरायलको प्रमुख सहर ‘वीर शिभा’ बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आफू गम्भीर रूपमा लागिपरेको बताए । उनका अनुसार, भगिनी सम्बन्ध स्थापनाले दुई शहरबीच सांस्कृतिक, शैक्षिक र प्रविधिक आदानप्रदानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
सो अवसरमा मेयर कोइरालाले इजरायल–इरान युद्धका बेला इजरायली सरकारमार्फत नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीमा देखाइएको सक्रियताको प्रशंसा गर्दै राजदूतमार्फत इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरे । “जुन गम्भीर घडीमा इजरायली सहयोग प्राप्त भयो, त्यसका लागि इजरायल सरकारलाई धन्यवाद दिन चाहन्छु,” मेयर कोइरालाले भने ।
राजदूत बासले विपिन जोशीलगायत हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि इजरायली सरकार उच्च प्राथमिकताका साथ क्रियाशील रहेको जानकारी पनि दिएका थिए । उनका अनुसार यस विषयमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय मानवीय संयन्त्रहरू सक्रिय गरिएका छन् ।
भेटपछि सलोन सदस्य सोम अधिकारीले जानकारी दिँदै भने, “राजदूत बास वीर शिभा र विराटनगरबीच भगिनी सम्बन्ध स्थापनामा निकै उत्साहित हुनुहुन्छ । उहाँले यसलाई छिट्टै औपचारिकता दिने प्रयत्न भइरहेको बताउनुभयो ।”