४८ जना एसपीको सरुवा, १४ जिल्लामा प्रहरी प्रमुख परिवर्तन

विराटनगर । नेपाल प्रहरीका ४८ जना प्रहरी नायब उपरीक्षक (एसपी) को व्यापक सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार १४ जिल्लामा प्रहरी प्रमुख नै परिवर्तन भएका छन् ।

निर्णयअनुसार मोरङ जिल्ला प्रहरी कार्यालयमा रहेका एसपी नारायण प्रसाद चिमरीयाको स्थानमा कवित कटुवाललाई पठाइएको छ । त्यस्तै सुनसरीमा केवश थेवे, सप्तरीमा गौतम कुमार केसी, दाङमा दीपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु, कास्कीमा नविन कार्की र कैलालीमा नरेन्द्र चन्द जिम्मेवारी पाउने भएका छन् ।

बाँकेमा अंगुर जिसीलाई पठाइएको छ । उनी यसअघि काठमाडौं जिल्ला अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए । यस्तै, काठमाडौं प्रहरी परिसरका प्रमुख अपिलराज बोहराको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१, नक्सालमा खटाइएको हो ।

त्यसैगरी डोटीमा महेन्द्र नेपाल, पूर्वी नवलपरासीमा युवराज खड्का, पर्सामा सुदिप पाठक, भक्तपुरमा सूर्यबहादुर खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालको सरुवाले संगठनभित्रको कार्य सम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

Add a Comment