रासफोर्डको जादूमयी प्रदर्शनमा बार्सिलोनाको विजयी सुरुआत

विराटनगर । मार्कुस रासफोर्डले प्रेरणादायी प्रदर्शन गर्दा स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।

बिहीबार राति इंग्ल्यान्डको सेन्ट जेम्स पार्कमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गर्‍यो ।

बार्सिलोनाका दुवै गोल रासफोर्डले दोस्रो हाफमा गरेका थिए । खेलको ५८औँ मिनेटमा उनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसको ९ मिनेटपछि बक्स बाहिरबाट उनले प्रहार गरेको शक्तिशाली बल जाली चुम्दै अग्रता दोब्बर बन्यो ।

निर्धारित समयको अन्तिम मिनेटमा न्युक्यासलका एन्टोनी गोर्डनले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यससँगै समूह चरणको पहिलो खेलमै बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोडेको छ ।

उता बिहीबार राति भएको अर्को खेलमा जर्मन क्लब आइन्ट्राच्ट फ्रांकफर्टले टर्किस क्लब गालातासेराईलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको छ ।