नख्खु कारागारबाट भागेका कैदीमाथि श्रीमतीको हत्या गरेको आशंका

विराटनगर । जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेको आशंका गरिएको छ।

जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका काभ्रे पनौती–१२ गागलका सन्तबहादुर तामाङले श्रीमती मनीषा घेवा तामाङलाई हत्या गरी घर नजिकैको बारीमा गाडेको अवस्थामा शव फेला परेको हो। शव भेटिएको पनौती–१२ का वडाध्यक्ष जयराम केसीले जानकारी दिएका छन्।

करिब ३० वर्षीया मनीषा तीन दिनदेखि बेपत्ता रहेकी थिइन्। आफन्त र स्थानीयले खोजी गर्ने क्रममा घर छेउमै खनिएको नयाँ खाल्डो र चप्पल भेटिएपछि शंका लागी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले स्थानीयको रोहबरमा शव उत्खनन गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले बताए।

‘शव भेटिएको छ तर हत्या सन्तबहादुरले नै गरेको पुष्टि भने भइसकेको छैन। फरार भएका उनको खोजी भइरहेको छ,’ एक प्रहरी अधिकारीले जानकारी दिए।

सन्तबहादुर जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए। उनको कैद अवधि सकिन एक महिना मात्रै बाँकी रहँदा, गत भदौ २४ गते जेन–जी आन्दोलनको अराजक अवस्थाको मौका छोपी अन्य कैदीसँगै भागेका थिए।

कारागारबाट भागेर घर पुगेपछि सन्तबहादुर र मनीषाबीच पटक–पटक झगडा हुने गरेको स्थानीयले बताएका छन्। सोही विवादकै क्रममा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने फरार रहेका सन्तबहादुरको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ।

Add a Comment