सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक, कारोबार सुरु भएको ३ मिनेटमै ४ प्रतिशत वृद्धि

बिराटनगर । नेपाली सेयर बजारले बिहीबार (असोज २३) नयाँ उछाल देखाएको छ। कारोबार सुरु भएको केबल ३ मिनेटमै बजार सूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

सर्किट ब्रेक लागेसँगै बजार कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।

अघिल्लो दिन नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद–बिक्रीमा सहज बनाउने निर्णय गरेपछि बजारमा ठूलो सकारात्मक प्रभाव परेको हो।

बिहीबार बिहान ११:०३ बजेसम्म नेप्से परिसूचक १०२ अंकले बढ्दै २६६२ अंकमा पुगेको छ। यस अवधिमा करिब २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ।

२१३ कम्पनीको मूल्य बढ्दा ३ वटा घटेका र ३ स्थिर देखिएका छन्। लगानी तथा व्यापार समूहमा ५ प्रतिशत, र बैंकिङ तथा विकास बैंक समूहमा ४ प्रतिशतको वृद्धि भएको छ। अन्य सबै सूचक पनि सकारात्मक देखिएका छन्।

आजका प्रमुख कारोबार भएका कम्पनीहरूमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्।
त्यस्तै हातवे इन्भेस्टमेन्ट, शिवश्री हाइड्रोपावर र राप्ती हाइड्रोका सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

Add a Comment