जेनजी आन्दोलनका क्रममा हतियार लुट्ने समूहका एकसहित आठ जना झापाबाट लागुऔषधसहित पक्राउ

विराटनगर। झापामा जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने घटनामा संलग्न एकजनासहित आठ जना पक्राउ परेका छन्। उनीहरू लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिबार साँझ दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर, सेक्टर एकको छाप्रोबाट उनीहरूलाई पक्राउ गरिएको हो। लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीले पक्राउ परेकाको साथबाट ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेनजी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा संलग्न रहेको बताइएको छ। त्यस्तै, मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागेका थिए।

अन्य पक्राउ पर्नेमा साजन थापा, दिपेश तामाङ, सनम राई, पविन विश्वकर्मा, सुचन दर्जी र विजय माझी रहेका छन्।

प्रहरीले उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

Add a Comment