धनुषाका ६ पालिकामा तलब भत्ता रोकिन्‍दै, कर्मचारी र शिक्षक दशैं–तिहारमै वञ्चित

विराटनगर । धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ६ पालिकाका कर्मचारी र शिक्षकले अहिलेसम्म तलबलगायतका सुविधा पाएका छैनन्। नगरसभा नबस्दा ती पालिकामा आर्थिक कारोबार ठप्प हुँदा कर्मचारी र शिक्षक चाडपर्वको समयमा समेत तलब–भत्ता पाउनबाट वञ्चित भएका हुन्।

तलब नपाउने पालिकामा मिथिला, क्षीरेश्वरनाथ, कमला र हंसपुर नगरपालिका तथा औरही गाउँपालिका रहेका छन्। यी पालिकामा जनप्रतिनिधिहरूबीच विकास योजनाको बाँडफाँडमा देखिएको विवादका कारण सभा हुन नसकेको जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले जानकारी दिए।

उनका अनुसार अन्य पालिकामा पनि प्रारम्भिक विवाद भएपनि समन्वय समितिको पहलपछि सभा सम्पन्न भएका छन्। तर उक्त ६ पालिकामा भने विभिन्न चरणमा छलफल भए पनि वार्षिक अधिवेशन नियमित रूपमा हुन नसकेको उनले बताए।

‘यहाँका धेरै पालिकामा कुनै एक दलको स्पष्ट बहुमत छैन,’ मण्डलले भने, ‘त्यसैले हरेक वर्ष योजना बाँडफाँड र बजेट विनियोजनमा दलहरूबीच विवाद हुने गरेको छ। स्थानीय शासन ऐनअनुसार परिषद्ले बजेट पारित नगरेसम्म कुनै पनि शीर्षकमा रकम खर्च गर्न नपाइने व्यवस्था छ। यही कारणले कर्मचारी र शिक्षक तलब–सुविधाबाट वञ्चित भएका छन्।’

नगरसभा बस्न नसकेका पालिकामा अब चाडपर्वपछि मात्रै बजेट पारित हुने सम्भावना देखिएको छ। यसले गर्दा ती पालिकाका कर्मचारी, शिक्षक तथा सेवा प्रदायकहरूले आर्थिक संकट भोग्नुपरेको छ।

Add a Comment