महोत्तरीमा कुमालको पेसा संकटमा, माटोका दियो र भाँडाकुडा विस्थापित
विराटनगर । तिहार र छठ पर्वको तयारीसँगै तराईका बजारहरू झिलीमिली बत्ती र धातुका दियोले चम्किँदै गर्दा पुस्तौँदेखि माटोको दियो र भाँडाकुडा बनाउँदै आएका कुमाल जातिको परम्परागत पेसा भने संकटमा परेको छ।
जलेश्वर नगरपालिका–५ का कुमाल ध्रुव रायका अनुसार आधुनिक बत्ती र धातुका दियोको बढ्दो प्रयोगले माटोका भाँडाकुडा र दियोको माग वर्षेनि घट्दै गएको छ। तिहार र छठ पर्वमा लाखौँका माटोका सामग्री बिक्री गर्ने परम्परा अब लगभग अन्त्यतिर पुगेको उनको भनाइ छ।
जलेश्वर नगरपालिका–६ का कुमाल गणेश पण्डितले भने, “पहिला दिपावली र छठमा हाम्रो माटोको दियो र पाला अत्यावश्यक हुन्थ्यो। अहिले प्लास्टिक र धातुका वस्तुहरूले बजार कब्जा गरिसके।”
त्यस्तै, महोत्तरी गाउँपालिका–४ का कुमाल विजय पण्डितका अनुसार पहिले माटोको भाँडा चोखो र धार्मिक मानिने भएकाले माग धेरै हुन्थ्यो। “दियो, मटिया, घैँटो, कुसिया, कुरबारजस्ता सामग्री बिना पर्व अधुरो मानिन्थ्यो। अहिले त्यो संस्कृतिमै असर परेको छ,” उनले दुःख व्यक्त गरे।
पहिले जिल्लाभरका हाटबजारहरूमा माटोका सामग्री बिक्री हुने गरेकोमा अहिले ती बजारमा नगन्य मात्रामा मात्र बिक्री हुने गरेको जलेश्वर नगरपालिका–१ का कुमाल सुरेन्द्र पण्डितले बताए।
विगतमा महोत्तरीका गाउँठाउँमा बनेका माटोका दियो र भाँडाकुडा तराई–मधेसका साथै काठमाडौं, पोखरा, हेटौँडा, जनकपुरदेखि भारतीय सहर मधुबनी, दरभङ्गा, सितामढी र पटनासम्म निर्यात हुने गरेको थियो। तर हाल बिक्री घटेपछि लगानी उठ्न नसक्दा नयाँ पुस्ता यस पेसाबाट टाढिँदै गएको गौशाला नगरपालिका–६ का कुमाल वीरजु पण्डितले बताए।
बलवा नगरपालिका–७ का पूर्वशिक्षक सुशील यादवका अनुसार आधुनिकताको प्रभावले कुमाल समुदायको परम्परागत सीप संकटमा परे पनि बुढापाका र संस्कृति प्रेमीहरूले अझै माटोकै भाँडाकुडा प्रयोग गर्ने चलन जीवित छ। “पुराना पुस्ताले जसोतसो यो परम्परा जोगाइरहेका छन्, तर नयाँ पुस्ता यसतर्फ आकर्षित छैन,” उनले भने।
स्थानीयहरूका अनुसार कुमाल समुदायको जीविका जोगाउन सरकार वा स्थानीय तहबाट प्रोत्साहन र सीप संरक्षण कार्यक्रम आवश्यक देखिएको छ।