कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु र पाँचजना घाइते
विराटनगर । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
गएराति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनाका क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू पनि घाइते भएका छन्।
दुर्घटनामा परेका अन्दाजी ५५ वर्षका पुरुष पैदलयात्रीलाई घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। हाल मृतकको नाम ठेगाना खुल्न बाँकी छ।
बसमा सवार पाँच जना यात्रुहरू घाइते भएका छन्। उनीहरूको चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिए।

 
																							 
																							