मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए, मलेसियाविरुद्धको खेलमा कार्यवाहक प्रशिक्षक नियुक्त हुने
विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि भियतनामविरुद्धको खेलपछि राजीनामा दिएका हुन्।
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत आगामी मंसिर २ गते मलेसियासँग पाँचौँ खेल खेल्न लाग्दैछ। मुख्य प्रशिक्षकले खेलअघि नै राजीनामा दिएपछि एन्फाले उक्त खेलका लागि कार्यवाहक प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको महासचिव राईले जानकारी दिए।
नेपालको घरेलु मैदान दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाएकाले यो खेल मलेसियामै खेल्नुपर्ने बाध्यता बनेको छ।
रसको नेतृत्वमा नेपालले एसियन कप छनोटका चारै खेलमा पराजय व्यहोरेको थियो। नेपालले मलेसिया र लाओससँग एक–एक खेल तथा भियतनामसँग दुई खेल खेलेको थियो।
गत फागुनमा मुख्य प्रशिक्षक बनेका रसको आठ महिनाको कार्यकालमा नेपालले सात खेल खेलेकोमा एकमा मात्र जित निकाल्न सफल भएको थियो। नेपालले सिंगापुरलाई उसको घरेलु मैदानमा पराजित गरेको थियो भने दुई खेल बराबरी र चार खेलमा हार बेहोरेको थियो।
४७ वर्षीय रस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। उनी यसअघि दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक थिए। त्यहाँ उनको कार्यकालमा कोरियाले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। त्यसअघि उनले चीनको यू–१५ महिला टोली र जर्मन क्लब फ्रान्कफर्टको महिला टोलीमा पनि प्रशिक्षकका रूपमा काम गरेका थिए।
एन्फाले प्रशिक्षक छनोटका लागि ४०५ जनाको आवेदनमध्येबाट रसलाई छनोट गरेको थियो।

 
																							 
																							