‘मोन्था’ चक्रवातको प्रभावः कोशी केन्द्रित भारी वर्षा, हरैंचामा २५० मिमि वर्षा
बिराटनगर। बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण उत्पन्न वर्षा पार्ने प्रणाली नेपालको पूर्वी भागमा केन्द्रित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यही कात्तिक १२ गते रातिदेखि सक्रिय भएको प्रणालीले हाल कोशी र मधेस प्रदेशका धेरै जिल्लामा असर पारिरहेको छ भने बागमती र गण्डकी प्रदेशका केही भागमा समेत यसको प्रभाव पुगेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार आज रातिदेखि क्रमशः मौसममा सुधार आउने संकेत देखिएको छ। “हाल कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि अधिकांश बदली छ,” उनले बताए।
विभागले काठमाडौं उपत्यकालगायत मध्यक्षेत्रमा वर्षा घट्दो क्रममा रहेको जानकारी दिएको छ। हाल ‘मोन्था’ चक्रवात भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेकाले यसको प्रभाव नेपालमा क्रमशः घट्दै जाने विभागको अनुमान छ। साथै, नेपालमा पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको पनि आंशिक असर रहेको जनाइएको छ।
विभागले कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा आज राति भारी वर्षा हुने सम्भावना रहेको बताउँदै जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने चेतावनी जारी गरेको छ।
कहाँ कति भयो वर्षा ?
विभागबाट प्राप्त शुक्रबार साँझ ७ बजेको अभिलेखअनुसार पछिल्ला २४ घण्टामा मोरङको हरैंचामा सबैभन्दा बढी २५० मिलीमिटर वर्षा रेकर्ड गरिएको छ, जुन अतिभारी वर्षा हो।
त्यस्तै,
झापामा १७२ मिमि
इलाममा १५५ मिमि
उदयपुरमा १०३ मिमि
गोरखामा १६५ मिमि
मनाङमा ११२.८ मिमि
लमजुङमा ८४ मिमि
सिरहामा ८३ मिमि वर्षा भएको विभागले जनाएको छ।
अन्य धेरै स्थानमा ५० देखि ८० मिमिबीच वर्षा भएको छ। अघिल्लो मनसुनी वर्षामा इलाममा २५० मिमिमाथि वर्षा हुँदा बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएको स्मरण गर्दै विभागले आज राति विशेष गरी पूर्वी नेपालमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ।
