बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३५ जना घाइते

बिराटनगर। बाजुरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी–कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् भने बुढीनन्दा गाउँपालिकाकै पाण्डुसैन बजार नजिक जीप दुर्घटनामा परि ५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टीबाट धनगढीका लागि छुटेको सुप–प्र ०१–००१ ख ३१८१ नम्बरको बस समान हाल्ने क्रममा पछाडि ब्याक भएर दुर्घटनामा परेको हो। दुर्घटनामा परि घाइतेमध्ये २० जनाको जिल्ला अस्पताल बाजुरामा र ६ जनाको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँका गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का जय सुनार, सन्ध्या सुनार, सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका मनी कामी, बूढीनन्दा–५ छातीकोटका लक्ष्मी मल्ललगायत रहेका छन्।

त्यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानीकी पवित्रा सिंह र उनका तीन सन्तान, बूढीनन्दा–७ की राममाया सुनार, इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिनका प्रकाश चदारा, विशाल शाही, पविन्द्र सिंह, उमेश भाट, गगन महतरा, रोशन महतरा, गणेश भण्डारी, फपिन्द्र सुनार, तुल सुनार र दीपेन्द्र भण्डारीसहित करिब ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

यस्तै, पाण्डुसैन बजार नजिकै जीप दुर्घटनामा परि जयराज जोशी, शंकर जोशी, सेते ल्वार, जयलाल वि.क र जंगविर सार्की घाइते भएका छन्। ती सबैको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

दुर्घटनापछि घाइतेहरूलाई सहयोग पुर्‍याउन राष्ट्रिय युवा संघ बाजुराले कम्बल वितरण गरेको छ। रात्रिको समयमा विरामीलाई सहज होस् भन्ने उद्देश्यले कम्बल सहयोग गरिएको संघका संयोजक विष्णु कार्कीले जानकारी दिए। उनका अनुसार घाइतेहरूको संख्या बढी भएको र अस्पतालमा कम्बल अभाव भएपछि तत्काल सहयोग गरिएको हो।