पश्चिमी वायुको प्रभाव : देशका विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना
विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ । उक्त प्रभावका कारण देशका पश्चिम र मध्य भागका प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ।
आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा थोरै स्थानमा हल्का देखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ। अन्य पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी र अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड–हिमालमा थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
विभागले मौसम परिवर्तनका कारण तापक्रममा केही गिरावट आउन सक्ने भन्दै पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।
