गत भदौको प्रदर्शनमा लुटिएको ‘ग्यास गन’ सहित एक जना पक्राउ
विराटनगर । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा लुटिएको हतियार ‘ग्यास गन’ सहित एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कैलाली जानकी गाउँपालिका–१ दुर्गौली घर भई हाल काठमाडौं महानगरपालिका–३२ सहयोगीनगर बस्ने २९ वर्षीय मनोज ढुङ्गानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ढुङ्गानाले प्रदर्शनको क्रममा विभिन्न प्रहरी कार्यालयबाट लुटिएको हतियार र गोलीगट्ठा मध्ये केही सामान आफ्नै कोठामा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनका अनुसार ढुङ्गानाको साथबाट कोरियामा निर्मित ३८ मिमी एन्टी रायट मल्टी ‘ग्यास गन’ (सिरियल नम्बर ११००६०८१) एक थान, भीड नियन्त्रणमा प्रयोग हुने ‘लेग गार्ड’ एक थान र सामसुङ मोबाइल फोन एक थान बरामद गरिएको छ ।
प्रहरीले पक्राउ परेका ढुङ्गानालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको जनाएको छ ।
