दाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

बिराटनगर । दाङको गढवा गाउँपालिका–४, अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार अजगढवाका शिवकुमार यादवकी छोरी जमुना यादवको बिहीबार मृत्यु भएको हो।

राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत बालिकालाई औषधि खुवाउने क्रममा घटना भएको बताइएको छ।

गढवा–४, रामनगरमा महिला स्वास्थ्य स्वयंसेविकाद्वारा औषधि खुवाउने क्रममा औषधि बालिकाको घाँटीमा अड्किएपछि उनको सास रोकिन गयो। केही मिनेटमै घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरी निरीक्षक बमका अनुसार बालिकाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण थप स्पष्ट हुने प्रहरीले जनाएको छ। निरीक्षक बमले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदा विशेष सावधानी अपनाउन सबैलाई आग्रह पनि गरेका छन्। रासस

Add a Comment