विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गर्‍यो, ‘द क्राउन वी अर्न’ थिममा तयार

बिराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टिमले रंग र डिजाइन दुवै परिमार्जन गर्दै जर्सीलाई ‘द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार पारेको छ।

विराटनगर किंग्सका अनुसार नयाँ जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भावना झल्काउनेछ। जर्सीको डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह झल्काउने सात रेखाहरू राखिएको छ, जसले एकता, शक्ति र गतिशीलताको प्रतीक जनाउने टिमले जनाएको छ।

जर्सीको काँधमा रहेको एपाउलेटले गौरव र सम्मानको भाव प्रस्तुत गर्ने टिमको भनाइ छ।

विराटनगर किंग्सले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ जर्सी र लोगो सार्वजनिक गरेको हो।

टिमले यसअघि सन्दीप लामिछाने, लोकेश बम, प्रतिश जिसी, नरेन साउद र सुवास भण्डारीलाई रिटेन गरेको छ। साथै अक्सनमार्फत सूर्य तामाङ, नारायण जोशी, शाहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई अनुबन्ध गरेको छ।

किंग्सले हालसम्म विदेशी खेलाडीका रूपमा फाफ डु प्लेसिस, मार्टिन गप्टिल, जर्ज मुन्से, साम हिज्लेट र मर्चेन्ट डे लाङलाई टोलीमा सामेल गरिसकेको छ।