दिल्ली विस्फोट योजनाबद्ध हुन सक्ने आशंका, आतंकवादविरोधी कानुनअन्तर्गत अनुसन्धान
बिराटनगर। भारतको राजधानी नयाँ दिल्लीमा ऐतिहासिक लालकिल्लानजिक सोमबार साँझ भएको कार विस्फोटको अनुसन्धान तीव्र गतिमा अघि बढेको छ। विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु र २० जना घाइते भएका छन्। भारतीय प्रहरीले यो घटनालाई अब साधारण दुर्घटना नभई योजनाबद्ध आतंकी गतिविधिको रूपमा हेर्न थालेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, दिल्ली प्रहरीले गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (UAPA) र विस्फोटक पदार्थ अधिनियम अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ। यी दुवै कानुन भारतमा आतंकवादी तथा संगठित आपराधिक गतिविधिसँग लड्न प्रयोग गरिन्छ।
भारतका गृहमन्त्री अमित शाहले घटनास्थल र घाइतेहरूको उपचार भइरहेको लोकनायक अस्पतालको अवलोकन गर्दै घटनाको गहन अनुसन्धान गरिने प्रतिबद्धता जनाएका छन्। उनले सुरक्षा निकायलाई दिल्लीमा उच्च सतर्कता अपनाउन निर्देशन समेत दिएका छन्।
विस्फोट लालकिल्लाको भूमिगत मेट्रो स्टेशननजिक भएको बताइएको छ। नयाँ दिल्लीका प्रहरी आयुक्त सतीश गोल्चाका अनुसार, “एक बिस्तारै गुडिरहेको कार रातो बत्तीमा रोकिएको थियो। त्यसैबेला कारभित्र विस्फोट भयो, जसका कारण नजिकै रहेका अन्य सवारीसाधनमा पनि क्षति पुगेको छ।”
विस्फोटका कारण छ वटा सवारीसाधन र तीन अटोरिक्सामा आगो लागेको प्रहरीले जनाएको छ। नयाँ दिल्लीका अग्नि उपनियन्त्रकका अनुसार आगलागी नियन्त्रणमा लिन करिब एक घण्टा लागेको थियो।
घटनापछि उत्तर प्रदेश र मुम्बईमा समेत उच्च सुरक्षा सतर्कता घोषणा गरिएको छ। भारतको केन्द्रीय सुरक्षा निकायले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललगायत राजधानीका प्रमुख सार्वजनिक स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ।
हालसम्म विस्फोटको कारण औपचारिक रूपमा खुल्न बाँकी छ। तर, प्रहरीको प्राथमिक निष्कर्षअनुसार यो पूर्वनियोजित हमला हुन सक्ने आशंका गरिएको छ।
