पारस मल्टिस्पेशालिटी अस्पताल र विराट मेडिकल कलेज टिचिङ अस्पताल बिच समझदारी पत्रमा हस्ताक्षर
विराटनगर । बिराटनगरको मुटुमा रहेको पारस मल्टिस्पेशालिटी अस्पतालले बिरामीलाई थप प्रभावकारी, गुणस्तरीय तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विराट मेडिकल कलेज टिचिङ अस्पतालसँग समझदारी पत्र (MoU) मा हस्ताक्षर गरेको छ।

समग्र स्वास्थ्य सेवा, न्युक्लियर मेडिसिन तथा विशिष्टीकृत उपचारलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित दुवै संस्थाबीच आपसी सहकार्यको योजना अघि बढाइएको हो। पछिल्लो समय वातावरणीय परिवर्तन तथा खानपानका कारण मानिसहरू विभिन्न जटिल रोगबाट ग्रसित भइरहेकाले उपचारलाई सहज र खर्च कम गर्ने उद्देश्यले अस्पतालबीच साझेदारी गरिएको जनाइएको छ।

विपन्न बिरामीलाई प्राथमिकता
सम्झौताअनुसार आर्थिक रूपमा कमजोर, गरिब तथा असहाय बिरामीलाई उपचारमा विशेष प्राथमिकता दिइनेछ। पारस अस्पतालमा उपलब्ध नभएका वा थप विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीलाई विराट मेडिकल कलेज टिचिङ अस्पतालमा सहुलियत दरमा उपचार गराइने व्यवस्था गरिएको छ।
पारस अस्पतालका अध्यक्ष तथा डा. सफिउर रहमानका अनुसार पारस अस्पतालबाट रिफर भई विराट मेडिकल कलेज जाने बिरामीलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरिएको हो। दुई अस्पतालबीच अनुभव तथा ज्ञान आदानप्रदान हुने र बिरामीहरू अनावश्यक रूपमा भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।
पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले यो सहकार्य उपचारमा मात्र सीमित नरही चिकित्सक, नर्सिङ तथा व्यवस्थापन टोलीबीच निरन्तर ज्ञान र अनुभव आदानप्रदान हुने बताए। यसले समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको उनले उल्लेख गरे।

सम्झौताअन्तर्गत उपलब्ध सेवा
समझदारी अनुसार पारस अस्पतालबाट सिफारिस (रेफर) भएका बिरामीले विराट मेडिकल कलेज टिचिङ अस्पतालमा निम्न सेवा सहुलियतसहित प्राप्त गर्नेछन्—
समग्र स्वास्थ्य सेवा: मेडिकल, सर्जिकल, आकस्मिक, विशिष्टीकृत तथा फलोअप उपचार
क्यान्सर उपचार: मेडिकल, सर्जिकल तथा रेडिएसन अंकोलोजी, केमोथेरापी र काउन्सिलिङ
न्युक्लियर मेडिसिन सेवा: DTPA रिनल फङ्सन स्टडी, थाइराइड स्क्यान, रिनल स्क्यान तथा रेडियो–थेराप्युटिक प्रक्रिया
यी सुविधा प्रेषित बिरामीका साथै पारस अस्पतालका कर्मचारी र उनीहरूका नजिकका परिवार सदस्य (आमाबुबा, पति/पत्नी र सन्तान) ले समेत उपभोग गर्न सक्नेछन्।
छुटको व्यवस्था
सम्झौताअनुसार बिरामीको आर्थिक भार कम गर्न निम्न सहुलियत प्रदान गरिनेछ—
ओपिडी टिकट: १०० प्रतिशत निःशुल्क
जनरल बेड: २० प्रतिशत छुट
ल्याब तथा रेडियोलोजी जाँच: १५ प्रतिशत छुट
सर्जरी (जनरल, ल्याप्रोस्कोपिक, अंकोलोजी): १५ प्रतिशत छुट
आईसीयू/एनआईसीयू/पीआईसीयू: १५ प्रतिशत छुट
हस्ताक्षरकर्ता
सम्झौतामा विराट मेडिकल कलेजका तर्फबाट अध्यक्ष प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की र सिईओ डेनी कार्कीले हस्ताक्षर गर्नुभएको हो। पारस मल्टिस्पेशालिटी अस्पतालका तर्फबाट अध्यक्ष डा. सफिउर रहमान, सिईओ हेम नारायण मेहता, को–अर्डिनेटर सुनील देव तथा अस्पताल म्यानेजर मोहम्मद सिफतेन रजा अन्सारीले हस्ताक्षर गर्नुभएको छ।

तीन वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको पारस मल्टिस्पेशालिटी अस्पतालले हालसम्म थुप्रै बिरामीलाई विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। अस्पतालले विपन्न तथा गरिब बिरामीलाई निःशुल्क उपचार र घरमै एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको छ। “सेवा नै धर्म हो, बिरामीको सही उपचार नै अस्पतालको मुख्य लक्ष्य रहेको छ। पारस अस्पतालले नेपालका साथै छिमेकी मुलुक भारतबाट आउने बिरामीलाई पनि सेवा दिँदै आएको छ। आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य सेवा विस्तारका लागि थप योजनाहरू अघि सार्ने अस्पतालले जनाएको छ।
