बंगलादेशमा उस्मान हादी हत्यापछि अर्को नेतामाथि पनि गोली प्रहार

बिराटनगर । विद्यार्थी नेता शरीफ उस्मान हादीको हत्यापछि बंगलादेशमा राजनीतिक हिंसा थप चर्किँदै गएको छ। हादीको मृत्युपछि एक अर्का राजनीतिक नेतामाथि पनि सार्वजनिक स्थानमै गोली प्रहार भएको छ।

बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार नेसनल सिटिजन्स पार्टी (एनसीपी) का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्ति केन्द्रीय संयोजक मोतेलब सिकदरमाथि सोमबार बिहान करिब ११ः४५ बजे खुलनाको सोनाडांगा क्षेत्रमा गोली हानिएको हो।

घटनापछि घाइते सिकदरलाई स्थानीयले उद्धार गरी खुलना मेडिकल कलेज अस्पतालमा भर्ना गरेका छन्। प्रहरीका अनुसार उनको उपचार जारी छ।
सोनाडांगा मोडेल प्रहरी चौकीका अनुसन्धान प्रमुख अनिमेष मण्डलले अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरी फरार भएको जानकारी दिएका छन्। घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि डिसेम्बर १२ मा विद्यार्थी आन्दोलनका चर्चित नेता शरीफ उस्मान हादीलाई ढाकाको एक मस्जिदबाट निस्कँदै गर्दा गोली प्रहार गरिएको थियो। गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिए पनि डिसेम्बर १८ मा अस्पतालमै उनको मृत्यु भएको थियो।

हादीको मृत्युपछि ढाकासहित बंगलादेशका विभिन्न सहरमा विरोध प्रदर्शन, आगजनी र झडपका घटना भएका थिए। सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ।
लगातार भइरहेका यी घटनाले आमनिर्वाचनको संघारमा रहेको बंगलादेशको राजनीतिक अवस्था थप संवेदनशील बन्दै गएको विश्लेषकहरूले बताएका छन्।

Add a Comment