पञ्चमुखी युवा समाजद्वारा ४१० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
विराटनगर । विराटनगर–१२ स्थित पञ्चमुखी युवा समाजले तिहारमा देउसीभैलोबाट संकलित रकमबाट विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ ।
विराटनगर–१२ अवस्थित दुईवटा विद्यालयका ४१० जना विद्यार्थीलाई कपी, डठपेन र पेन्सिल वितरण गरिएको समाजका अध्यक्ष लाक्पा लामाले जानकारी दिए । सहिद दिवसको अवसर पारेर विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको लामाको भनाइ थियो ।
उनका अनुसार मलङ्गुवास्थित जनता बालकल्याण आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो । विद्यालयकी प्रधानाध्यापक इमा ओझाले समाजलाई धन्यवाद दिएकी थिइन् । त्यस्तै दरैयास्थित जनता आधारभूत विद्यालय दरैयाका ३ सय जनालाई पनि स्टेशनरी सामग्री वितरण गरिएको लामाले बताए । विद्यालयका प्रधानाध्यापक ओम ढकालको उपस्थितिमा अध्यक्ष लामासहित सचिव गौतम कामत र कोषाध्यक्ष रमिला कोइरालाले स्टेशनरी सामग्री प्रदान गरेका थिए ।
देउसीभैलोबाट संकलित रकमले वनभोजलगायतका कार्यक्रम गरेर अनावश्यक खर्च गर्नुभन्दा विद्यार्थीको पठनपाठनमा सहज होस् भनेर स्टेशनरी सामग्री प्रदान गरिएको लामाको भनाइ थियो । दुवै विद्यालयमा सीमान्तकृत र विपन्न समुदायका बालबालिका अध्ययन गर्दछन् । करिब १८ हजार मूल्य बराबरको सामग्री प्रदान गरिएको समाजले जनाएको छ ।
