कोशी प्रदेशको केही स्थानमा धेरै वर्षा हुने सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको प्रक्षेपण छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना भने धेरै स्थानहरुमा छ ।

विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तर अर्थात् नेपालतर्फ रहेकाले पश्चिमको तुलनामा पूर्वी नेपालमा बढी वर्षा हुने प्रक्षेपण गरिएको हो ।

देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा एवं हिमपातको समेत सम्भावना औंल्याइएको छ ।