डलर बलियो बन्दै जाँदा सुनको भाउ ह्वात्तै घट्यो, उतारचढाव कायमै
विराटनगर । लगातार नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको भाउ शुक्रबार एकाएक घटेको छ । नेपाली बजारमा बिहीबार तोलामा २० हजार ५०० रुपैयाँले बढेर तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेको सुन शुक्रबार सोही दरले घट्दै तीन लाख १८ हजार ८०० रुपैयाँमा झरेको हो ।
सुनचाँदीको मूल्यमा देखिने यस्तो उतारचढाव नेपाली बजारमा मात्र निर्भर नहुने र अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको विज्ञहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा बिहीबारसम्म प्रतिऔँस सुनको मूल्य पाँच हजार ६ सय अमेरिकी डलरसम्म पुगेको थियो । तर शुक्रबार एकाएक घटेर चार हजार ८९५ डलरसम्म झरेको छ । निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा एकाएक ठूलो गिरावट आएपछि विश्व बजारमा चासो र चिन्ता बढेको छ ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलर बलियो बनेसँगै सुनको मूल्य घट्न पुगेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल रिजर्भ (फेड) को प्रमुखमा केभिन वार्सलाई मनोनयन गरेपछि फेडको राजनीतिक स्वतन्त्रताबारेको चिन्ता कम भएको र यसले डलरलाई मजबुत बनाएको उनीहरूको भनाइ छ ।
यसअघि ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि एक वर्षको अवधिमा डलर सूचकांक करिब १० प्रतिशतले घटेको थियो ।
त्यसै कारण सुनको मूल्य बढ्न सहयोग पुगेको विश्लेषण गरिएको छ । ट्रम्पको आगमनसँगै बढेका भूराजनीतिक तनाव र आर्थिक अनिश्चितताले लगानीकर्ताहरू डलरबाट टाढिँदै सुनतर्फ आकर्षित भएका थिए ।
सुनलाई दीर्घकालीन रूपमा सुरक्षित सम्पत्तिका रूपमा लिने गरिएकाले अनिश्चितता बढ्दा त्यसतर्फ लगानी बढ्ने गर्छ । पछिल्लो १२ महिनामा सुनको मूल्य करिब ९० प्रतिशतले बढिसकेको थियो ।
तर फेडको नेतृत्वमा नयाँ मनोनयनसँगै शुक्रबार मात्र अमेरिकी डलर सूचकांक ०.९ प्रतिशतले बढेको छ । डलर बलियो बन्दै गएपछि लगानीकर्ताहरूको ध्यान पुनः त्यतातर्फ फर्किन थालेको विश्लेषकहरूले बताएका छन् ।
विशेषज्ञहरूका अनुसार निकट भविष्यमा पनि सुनको मूल्यमा उतारचढाव जारी रहने सम्भावना छ । केही वैश्विक आर्थिक तथा भूराजनीतिक जोखिमहरू सन् २०२६ को अन्त्यसम्म कम हुनसक्ने अनुमान गरिएको छ, जसले सुनको मूल्यमा थप दबाब पर्नसक्ने देखिएको छ ।
