अमेरिका–भियतनाम नयाँ व्यापार सम्झौता: अमेरिकी सामानमा शुल्क हट्ने, भियतनामी वस्तुमा २० प्रतिशत कर लाग्ने
विराटनगर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग नयाँ व्यापार सम्झौताको घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उक्त सम्झौता अनुसार अब अमेरिकाले भियतनामबाट आयात हुने वस्तुहरूमा २० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउनेछ।
राष्ट्रपति ट्रम्पले भनेका छन्, “यो सम्झौता ऐतिहासिक छ। अब भियतनामले अमेरिकाबाट आयात हुने वस्तुहरूमा कुनै पनि शुल्क लगाउने छैन।” यसअघि भियतनामसँगको व्यापार असन्तुलन रहेको भन्दै ट्रम्प प्रशासनले कडा भन्सार नीति लिँदै आएको थियो।
यस सम्झौता लागू हुनुअघि अमेरिकाले भियतनामबाट आयात हुने केही वस्तुहरूमा ४६ प्रतिशतसम्म भन्सार शुल्क लगाउने निर्णय गरेको थियो, जुन आगामी जुलाईको दोस्रो हप्ताबाट लागू गर्ने तयारी गरिएको थियो।
ट्रम्पको नयाँ निर्णयपछि भने उक्त प्रस्तावित शुल्कलाई प्रतिस्थापन गर्दै २० प्रतिशत कर मात्र लागू गरिने भएको छ।
अहिले युरोपेली संघ, जापान लगायतका दर्जनौं देशहरू पनि अमेरिकी भन्सार नीति लागू हुनुभन्दा अघि अमेरिकासँग व्यापार सम्झौता गर्न प्रयासरत छन्। यसले अन्तर्राष्ट्रिय व्यापार नीतिमा नयाँ मोड ल्याएको विज्ञहरूको भनाइ छ।