योगेन्द्र मण्डल मातहतको जीवन विकास खानेपानीमा फेरि किरा भेटियो
बारम्बार लापरवाहीको आरोप: 
बिराटनगर — योगेन्द्र मण्डल मातहत सञ्चालनमा रहेको जीवन विकास खानेपानीको सिलबन्दी बोतलमा किरा र ढुंगा भेटिएको छ। सिल प्याक गरिएको बोतलमै किरा भेटिनुले जनस्वास्थ्यप्रति गम्भीर खेलवाड भएको भन्दै स्थानीय स्तरमा चासो र आक्रोश बढेको छ।
उक्त खानेपानी उर्जाशील पार्टीका अध्यक्ष तथा जीवन विकास संस्थाका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलको मातहतमा रहेको बताइएको छ। सिलबन्दी बोतलभित्र किरा भेटिनु कम्पनीको लापरवाहीको स्पष्ट उदाहरण भएको स्थानीयवासीहरूको भनाइ छ।
नाम नखुलाउने सर्तमा एक व्यापारीले भने, “यो कम्पनीको त्रुटि पहिलो पटक होइन। यसअघि पनि पटक–पटक यस्तै समस्या देखिँदै आएको छ।” उनका अनुसार बारम्बार देखिएको लापरवाहीका कारण आफूले जीवन विकास खानेपानीको बिक्री गर्न छोडिसकेको बताए।
यद्यपि कम्पनीले आफ्नो उत्पादनलाई ‘प्रशोधित शुद्ध पानी’ भनेर प्रचार गर्दै आएको छ। तर यस्ता घटनाले कम्पनीको दाबीमाथि गम्भीर प्रश्न उठाएको छ।
