ललितपुर महानगरपालिकाका र महालक्ष्मी नगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिए

ललितपुर। ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् ।

महानगरको ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिश विष्टले बताए ।उनले भने,‘हामीले मानभवन, कुमारीपाटी एवं तिखिदेवलका साथै महालक्ष्मीमा पनि उक्त रोगका बिरामी भेटेसँगै घर–घर घुमेर लाम्खुट्टे नष्ट गर्ने अभियान थालेका छौं ।

उक्त रोगलाई जिल्लाबाटै न्यूनीकरण गर्न हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्नुपर्ने देखिएको र घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पुर्‍याउन आवश्यक भएको कार्यालय प्रमुख डा. विष्टको भनाइ छ।