छाउगोठमा सुत्दा सर्पदंश: कृष्णपुरमा एक महिलाको मृत्यु

विराटनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुत्ने क्रममा सर्पदंशका कारण एक महिलाको ज्यान गएको छ। शनिबार राति करिब ८ बजे विषालु करेत प्रजातिको सर्पले डसेपछि २८ वर्षीया कमला दमाईको मृत्यु भएको हो।

घटनापछि गम्भीर घाइते अवस्थामा रहेकी कमलालाई तत्काल उपचारका लागि कैलालीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

कमला दुई महिनाअघि मात्र भारतबाट घर फर्किएकी थिइन्। परिवारसँग पक्की घर हुँदाहुँदै पनि सामाजिक परम्परा र अन्धविश्वासका कारण उनले छाउगोठमा बस्नुपरेको स्थानीयबासीहरूले बताएका छन्। उनी छिमेकीको घरछेउमा रहेको छाउगोठमा सुत्न गएकी थिइन्।

यो घटनाले अझै पनि नेपाली समाजमा जरो गाडेर बसेको छाउपडी प्रथा र अन्धविश्वासको गम्भीर समस्यालाई उजागर गरेको छ। सरकारले छाउपडी प्रथामाथि कानुनी रूपमा प्रतिबन्ध लगाए पनि व्यवहारमा अझै यसको पालन गरिँदै आएको देखिन्छ।

Add a Comment