बुढीगंगा गाउँपालिकामा श्रीमद् भागवत सप्ताह महापुराण महायज्ञ जारी

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–३ बासबारीमा श्रीमद् भागवत धनधान्याचल सप्ताह महापुराण महायज्ञ तथा आध्यात्मिक ज्ञान महोत्सव २०८१ जारी छ। माघ १७ गतेदेखि सुरु भएको महायज्ञ माघ २४ गते समापन हुने छ।

स्थानीय आपुर्बी लिचेश्वर महादेव मन्दिरलाई व्यवस्थित गर्न तथा पुनर्निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले सप्ताह महापुराणको आयोजना गरिएको समितिका सचिव हृदयानन्द राजवंशी (हिप्पु) ले जानकारी दिए। उनका अनुसार प्रारम्भमा मन्दिर नम्बरी जग्गामा रहेको भए पनि पछि समितिमा हस्तान्तरण गरिएको थियो। अब अधुरो रहेको मन्दिर निर्माण सम्पन्न गर्नका लागि महायज्ञ आयोजना गरिएको हो।

महायज्ञमा दैनिक ४०० देखि ५०० भक्तजनको सहभागिता रहेको उपाध्यक्ष प्रभा मण्डलले जानकारी दिइन्। उनका अनुसार लामो समयदेखि जिर्ण अवस्थामा रहेको मन्दिर पुनर्निर्माण गर्नका लागि स्थानीय तथा भक्तजनहरूको सहयोग जुटाइँदैछ।

पुराण प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म, दिउँसो ११ देखि ४ बजेसम्म, र राति ७ देखि १० बजेसम्म सञ्चालन भइरहेको छ। प्रमुख कथा वाचिका श्री सहस्राभा मञ्जरी , उप वाचक पण्डित श्री माघव मिश्र हुन् भने पुराण संयोजक पण्डित श्री लक्ष्मण पौडेल शास्त्री रहेका छन्।

महायज्ञका लागि अनुमानित ५ लाख रुपैयाँ खर्च हुने तथा मन्दिर निर्माण कार्यका लागि १५ देखि २० लाख रुपैयाँ आवश्यक पर्ने समितिले जनाएको छ। भक्तजनहरूले मन्दिर निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *