नेपाल अग्रवाल सभाद्वारा विराटनगर–१२ का बाढीपीडितलाई राहत वितरण
विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरले बाढी पीडितहरूको घर–घरमा पुगेर राहत सामग्री वितरण गरेको छ। विराटनगरका विभिन्न बस्तीहरू बाढीले डुबानमा परेको जानकारीपछि सभाले प्रत्यक्ष रूपमा पुगेर सहयोग हस्तान्तरण गरेको हो।
नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवालको नेतृत्वमा आइतबार विराटनगर–१२ का बखरी, मलङ्वा र दरैया बस्तीमा पुगेर राहत वितरण गरिएको हो। सो कार्यक्रममा विराटनगर महानगरपालिकासँग समन्वय र सहकार्य गरेर पीडित घरपरिवारहरूलाई आवश्यक सामग्री वितरण गरिएको सभाले जनाएको छ।
असोज १९ र २० गतेको लगातार वर्षाका कारण मोरङ र सुनसरीको सिमानाबाट बग्ने केशलिया खोलाको पानी विराटनगर–१२ क्षेत्रमा पसेपछि करिब २ सय भन्दा बढी घर डुबानमा परेका थिए।
बाढीले प्रभावित सबै घरपरिवारसम्म पुग्न अध्यक्ष अग्रवाल स्वयं पानीजहाज (डुंगा) मार्फत करिब ४ किलोमिटर दुरी तय गर्दै पाँच घण्टा समय लगाएर राहत वितरणमा सहभागी भएका थिए।
राहत सामग्रीमा चिउरा, भुजा, चाउचाउ, बिस्कुट, प्याज, नुन, खुर्सानी र पिउने पानी लगायतका अत्यावश्यक सामानहरू रहेका थिए।
अध्यक्ष अग्रवालले समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूको सहयोगमा २ सयभन्दा बढी बाढीपीडित परिवारसम्म राहत पुर्याउन सम्भव भएको बताए। उनले कठिन परिस्थितिमा पनि मानवताको भावनाले सबैलाई जोड्ने कार्य नेपाल अग्रवाल सभाको प्रमुख उद्देश्य रहेको बताएका छन्।