कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २४ वर्षपछि पक्राउ

भोजपर / कर्तव्य ज्यान मुद्धामा फरार रहेका भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ वर्षीय शान्त कुमार राई २४ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार २०५७ साल साउन १३ गते भोजपुरको तत्कालीन ठुलोदुम्मा गा.वि.स.-८ निवासी विजय कुमार राईलाई शान्त कुमार राईले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। उपचारका लागि जिल्ला अस्पताल भोजपुर पुर्‍याइएका विजय कुमारको साउन १८ गते मृत्यु भएको थियो।

घटनापछि फरार रहेका शान्त कुमार राई वर्षौंसम्म लुकिछिपी बस्दै आएका थिए। खोजतलासका क्रममा प्रहरीले उनलाई आफ्नै गाउँ फर्किएको अवस्थामा २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई अदालतको आदेशअनुसार तोकिएको कैद सजाय भुक्तानका लागि जिल्ला कारागार भोजपुर पठाइएको प्रहरीले जनाएको छ।