प्रकाश सपुत निर्देशित चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक
विराटनगर/ गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक गरिएको छ। नेपालका विभिन्न लोकेशनहरू तथा भारतको गोवामा खिचिएको यस गीतमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
चलचित्र निर्माण टिमले विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै यो गीत सार्वजनिक गरेको हो। निर्देशक तथा अभिनेता प्रकाश सपुतले ‘हेर्दै आँखामा’ गीतले मानिस जुनसुकै जात, धर्म तथा वर्गको भए पनि सबै एक हुन् भन्ने सन्देश दिने बताए। उनले यो गीतले सिनेमाको कथासँग प्रत्यक्ष सम्बन्ध नराखे पनि भविष्यमा यसको महत्त्व दर्शकहरूले अवश्य अनुभूति गर्ने विश्वास व्यक्त गरे।
सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको दृश्य समेटिएको छ, जसले सिनेमाको कथा र भावनालाई चित्रण गर्छ। यस गीतमा गायक सुगम पोखरेल र गायिका समीक्षा अधिकारीले स्वर दिएका छन्। गीतको शब्द तथा संगीत निर्देशक सपुतकै रहेको छ भने संगीत संयोजन योगेश काजी शाहले गरेका छन्। गीतको छायांकन सुशन प्रजापतिले गरेका हुन् भने कोरियोग्राफी केवीका खत्री र सम्पादन प्रवीन भट्टले गरेका छन्।
चलचित्र ‘वसन्त’ चैत्र २२ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ। यस चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहनेछ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यो सोसल ड्रामा चलचित्रको कथा, पटकथा तथा संगीत स्वयं निर्देशक प्रकाश सपुतले तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्ने लक्ष्य प्राप्त गर्न गरेको संघर्षलाई चलचित्रले उजागर गर्नेछ। चलचित्रका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
चलचित्रको छायांकन गायक तथा निर्देशक प्रकाश सपुतको जन्मथलो बागलुङ, काठमाडौं तथा तराईका विभिन्न ठाउँमा गरिएको हो। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले चलचित्रको वितरण गर्नेछन्।