गुल्मीमा दुई महिनादेखि बेपत्ता रतन शाहीको कंकाल फेला, कुकुरको सहायतामा खुल्यो रहस्य
बिराटनगर / गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ निवासी ५५ वर्षीय रतन शाही दुई महिनादेखि हराइरहेका अवस्थामा कंकाल अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगाबहादुर सारुका अनुसार शाही घरमा एक्लै बस्दै आएका थिए र उनी करिब दुई महिनाअघि बेपत्ता भएका थिए।
सोमबार राति एउटा कुकुरले मान्छेको टाउको जस्तो देखिने वस्तु ल्याएर आँगनमा राखेपछि स्थानीय वडासदस्य सुन्दर कुँवरले प्रहरीलाई खबर गरेका थिए। घटनाको सूचना पाएपछि मंगलबार बिहान प्रहरी टोली स्थानीयको साथमा खोजीमा निस्किएको थियो।
खोजीको क्रममा कालिका सामुदायिक जंगलमा रतन शाहीको शरीरका अन्य भागका अवशेष फेला परेका छन्। अवशेषसँगै भेटिएका कपडाका आधारमा उनी रतन शाही भएको पुष्टि गरिएको प्रहरी र आफन्तहरूले बताएका छन्।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको हुनसक्ने देखिएको छ। घटनाको थप अनुसन्धानका लागि इन्सपेक्टर भुपेन्द्र थापाको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ।
यस घटनाले स्थानीय समुदायमा शोक र स्तब्धता छाएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।