विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु, एक जना अझै बेपत्ता
सुनसरी/ जनतालाई विपद्बाट जोगाउन ज्यानको बाजी राखेर उद्धार खटिएका सशस्त्र प्रहरी बलका एक जवानले ज्यान गुमाएका छन् भने अर्का एक जना अझै बेपत्ता रहेका छन्।
बिहीबार सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका जवान हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए। खोजी कार्यमा जुटेको सशस्त्र प्रहरीको ३५ सदस्यीय टोलीले आज बिहान सप्तकोशी नदी किनारमा राजवंशीको शव फेला पारेको हो।
राजवंशी नं. १ श्रीअन्तु गण इलाममा दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा कार्यरत थिए। उनी बिहीबार दिउँसो १५:१० बजे अभ्यासका क्रममा कोशी नदीमा बेपत्ता भएका थिए। डोटीका सुरज साउद भने हालसम्म पनि बेपत्ता छन्। साउद नम्बर १३ गण पर्सामा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।
बेपत्ताको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उद्धार अभ्यासकै क्रममा यस्तो दुःखद घटना भएकोप्रति सुरक्षाकर्मी र स्थानीयवासीले गहिरो दु:ख व्यक्त गरेका छन्।