विर्तामोडमा कृत्रिम खुट्टा वितरण : २६ अपांगता भएका व्यक्तिहरूले पाए नयाँ जीवन

झापा / अग्रसेन भवन विर्तामोडको रजत महोत्सवको अवसरमा आयोजित विशेष शिविरमार्फत २६ जना खुट्टाको अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ। यस सेवाबाट नयाँ जीवनको सुरुवात गरेका लाभग्राहीहरूले अब साइकल चलाउन सक्ने र स्वाभिमानका साथ जीवन यापन गर्न सक्ने आशा गरेका छन्।

शिविरमार्फत कृत्रिम खुट्टा पाउने लाभग्राहीहरूमा अर्जुनधारा, शिवसताक्षी, कचनकवल, बुद्धशान्ति, हल्दिवारी, इलाम चुलाचुली, बाह्रदशी र मेचीनगरका नागरिकहरू छन्। तीमध्ये शिवसताक्षीका कृष्णबहादुर राईलाई दुवै खुट्टा गुमाएका कारण दुईवटै कृत्रिम खुट्टा प्रदान गरिएको हो।

अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’का अनुसार, शिविरमा १६ जनालाई तत्कालै कृत्रिम खुट्टा लगाइएको थियो भने ८ जनालाई काठमाडौंमा लगाइएको हो। यो सेवा विशेष गरी आर्थिक अभावका कारण कृत्रिम खुट्टा नलगाउन सक्नेहरूलाई लक्षित गरिएको थियो।

शिविरको व्यवस्थापन मारवाडी सेवा समिति नेपाल र पशुपति गौशाला धर्मशाला, काठमाडौंले गरेका थिए। पशुपति गौशालाका अनुसार, हालसम्म ६,५०० जना अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क कृत्रिम खुट्टा वितरण भइसकेको छ। महासचिव अग्रवालका अनुसार, कृत्रिम खुट्टा वितरण गरेपछि १२ महिनासम्म फलोअप गरिने व्यवस्था पनि गरिएको छ।

एक देखि डेढ लाख रुपैयाँसम्म खर्चिलो हुने कृत्रिम खुट्टा निःशुल्क प्राप्त भएपछि लाभग्राहीहरू निकै उत्साहित देखिएका थिए। शिविर श्रीराम कथाका अवसरमा अग्रसेन भवन विर्तामोड र रोटरी क्लव अफ विर्तामोडको संयुक्त आयोजनामा, हरिद्वार भारतका कथावाचक नवराज प्रपन्नजी महाराजको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *