रंगेलीमा कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

रंगेली / मोरङको रंगेली नगरपालिका–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा सात दिन लामो कृष्टलका पोते तथा माला बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। रंगेली नगरपालिकाको सहयोग तथा गृह श्रमिक सुसज्जनशील महिला समाज नेपालको आयोजनामा सम्पन्न उक्त तालिम जेठ १८ गतेदेखि सुरु भई २५ गतेसम्म सञ्चालन भएको थियो।

नगरभित्रका अति विपन्न र पिछडिएका परिवारका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा २८ जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो। तालिममा धरान निवासी प्रशिक्षिका मुना खड्काले सहभागी महिलाहरुलाई पोते तथा माला बनाउने सिप सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरेकी थिइन्।

समापन समारोहमा प्रमुख अतिथि रूपमा रंगेली नगरपालिकाका प्रशासनिक अधिकृत प्रदीप साह, विशिष्ट अतिथि उपमेयर भुमा पराजुली, वडा अध्यक्ष मण्डल, संस्थाकी अध्यक्ष शान्ता श्रेष्ठ, कमला न्यौपाने, कविता नेपाल लगायतको उपस्थिति रहेको थियो।

सहभागी महिलाहरुले यस्तो सिपमूलक तालिमबाट आफूहरु घरमै बसेर समेत आम्दानी गर्न सक्ने सम्भावना देखिएको बताउँदै तालिमप्रति खुशी व्यक्त गरेका थिए। उनीहरूले तालिमले आत्मविश्वास बढाएको समेत बताएका छन्।

कार्यक्रमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

यस किसिमका सिपमूलक तालिमहरु नगरपालिकाले आगामी दिनमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।