मोरङ्गमा समावेशी समाजवादी पार्टीद्वारा “सिरुवा साँस्कृतिक महोत्सव” आयोजना गरिने

सरिता कर्मकार

विराटनगर/ समावेशी समाजवादी पार्टी नेपाल, थरुहट कोचिला प्रदेश मोरङ्ग/सुनसरीको आयोजनामा यहि २०८२ बैशाख १ गते सोमबार मोरङ्गको ग्रामथान गाउँपालिका–५, नेताचोकमा “जुडि सितौल हे सिरुवा साँस्कृतिक महोत्सव” भव्य रूपमा आयोजना गरिने भएको छ।

पार्टी स्थापनाकालदेखि नै धर्मनिरपेक्षता, लोकतन्त्र, संघीयता, बहुदलिय व्यवस्था, गणतन्त्र, समावेशीता र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा उभिँदै आएको समावेशी समाजवादी पार्टीले पछिल्लो समय राज्यका अंग, तह, तप्का र निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै आएको छ। पार्टीका अनुसार काठमाडौं केन्द्रित एकात्मक राज्य व्यवस्थाको अन्त्य गर्दै ऐतिहासिक पहिचानसहितको स्वशासित, स्वायत्त, सीमांकन र नामांकनयुक्त अग्रगामी राज्य पुनर्संरचना अपरिहार्य छ।

महोत्सवको मुख्य उद्देश्य नेपालको मौलिक भाषा, भेषभूषा, ग्रामधामी परम्परा, चाडपर्व, संस्कार र संस्कृतिको संरक्षण तथा पुनःस्थापनाका लागि साँस्कृतिक जागरण अभियान संचालन गर्नु हो। बाह्य आप्रवासन, खुला सिमाना र राज्यको एकल जातीय सोचका कारण मुलवासी आदिवासीहरुको संस्कृति, चाडपर्व, जल-जंगल-जमिन जस्ता सम्पदा हराउँदै गइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टीले महोत्सवमार्फत चेतना फैलाउने जनायो।

कार्यक्रम बिहान ११ बजेदेखि ग्रामदेवताको पूजा–पाठबाट सुरु हुने छ। मोरङ्ग इन्चार्ज मनोज विश्वासका अनुसार महोत्सवमा २ लाख रुपैयाँ बराबरको खर्च हुने अनुमान गरिएको छ भने करीब २ हजार मानिसको उपस्थितिको अपेक्षा गरिएको छ। विभिन्न जातजाती, धर्म र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति, नृत्य, परम्परागत पोशाक र परिकारको प्रदर्शनी समेत महोत्सवको आकर्षण हुने छन्।

पार्टीले नेता, कार्यकर्ता, बुद्धिजीवी, पत्रकार, सम्पूर्ण नागरिकहरुलाई महोत्सवमा उपस्थित भइ ऐतिहासिक रीतिरिवाज, परम्परा र पहिचानको संरक्षणमा हातेमालो गर्न आग्रह गरेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *