सुनवर्षीमा सवारी दुर्घटना: दुई युवक गम्भीर घाइते
सुनवर्षी / सुनवर्षी नगरपालिका वडा नं. ५ स्थित कासिजानमा सोमबार दिउँसो साढे ४ बजे भएको सवारी दुर्घटनामा दुई स्थानीय युवक गम्भीर घाइते भएका छन्।
भारतीय नम्बर प्लेट डिएल ८ सीएई १३८६ भएको कारले प्रदेश १–०२–०५७ २४६७ नम्बरको एफजेड् फाइभ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय सोनु कुमार साह र विकास कुमार साह घाइते भएका हुन्।
दुर्घटनापछि दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल रंगेली लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि रंगेली अस्पतालको सिफारिसमा मोरङ्ग सहकारी अस्पतालमा थप उपचारका लागि लगिएको घाइतेका परिवारले जनाएका छन्।
“हाल दुवै जना मोरङ्ग सहकारी अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन्,” एक परिवार सदस्यले जानकारी दिए।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार दुर्घटनापछि कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।