शिक्षक आन्दोलनलाई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF) को ऐक्यबद्धता
काठमाडौं / नेपालमा जारी शिक्षक–कर्मचारी आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरको श्रमिक संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF), लण्डनले समर्थन जनाएको छ। ITF का महासचिव स्टेफन कटनको तर्फबाट पठाइएको ऐक्यबद्धता सन्देश काठमाडौंस्थित आन्दोलन स्थलमा हस्तान्तरण गरिएको हो।
उक्त सन्देश फेडेरेशनका विश्व कार्य समिति सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई हस्तान्तरण गरे। पत्रमा फेडेरेशनले शिक्षक आन्दोलनप्रति गहिरो चासो व्यक्त गर्दै विद्यालय शिक्षा ऐन यथाशिघ्र जारी गर्न र विगतमा भएका सम्झौताहरु तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ।
फेडेरेशनले जाहेर गरेको ऐक्यबद्धताप्रति महासंघ अध्यक्ष सुवेदीले विशेष धन्यवाद दिँदै आभार प्रकट गरेका थिए। उनले अन्तर्राष्ट्रिय श्रमिक समुदायको समर्थनले आन्दोलनलाई थप ऊर्जा दिएको बताए।
त्यस अवसरमा महासचिव राईले राज्यसत्ता तथा केही राजनीतिक दलका नेताहरू पेशागत आन्दोलनप्रति अनुदार भएको टिप्पणी गर्दै, अधिकार राज्यसँग भिडेरै हासिल गर्नुपर्ने बाध्यता रहेको बताए।
यसअघि चैत २८ र २९ मा लण्डनमा सम्पन्न ITF को विश्व कार्यसमिति बैठकमा महासचिव राईले नेपालमा भइरहेको श्रमिक तथा शिक्षक आन्दोलनका चुनौतीबारे धारणा राखेका थिए। बैठकमा फेडेरेशनका अध्यक्ष पेडडी क्रुमलिनले नेपालको आन्दोलनलाई दृढ समर्थन रहने र आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएका थिए।
ITF मा विश्वभरका दुई करोडभन्दा बढी यातायात क्षेत्रका श्रमिक आवद्ध छन् भने ६० सदस्यीय विश्व कार्यसमितिमा नेपालका तर्फबाट महासचिव राई प्रतिनिधित्व गर्दै आएका छन्।