विराटनगरमा बालबालिकालाई स्वर्णबिन्दु खुवाइने

विराटनगर । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु खुवाइने भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले आगामी कात्तिक २५ गते १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने कार्यक्रम तय गरेको छ ।

शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले विराटनगरका करिब १ हजार बालबालिकालाई लक्षित गरी स्वर्णबिन्दु खुवाउने तयारी पूरा भएको जानकारी दिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. रामप्रमोद चौधरीका अनुसार स्वर्णबिन्दु बच्चामा देखिने अटिजमलगायतका विभिन्न समस्या न्यूनीकरणमा उपयोगी मानिएको छ । उनका अनुसार स्वर्ण भस्म, मह, घ्यू, ब्राह्मी लगायतका आयुर्वेदिक जडिबुटीको मिश्रणबाट तयार हुने स्वर्णबिन्दुले बालबालिकाको बुद्धि, स्मरणशक्ति र वाणीमा सुधार ल्याउने, साथै पाचन शक्ति, शारीरिक बल र रोग प्रतिरोधात्मक क्षमता बढाउने मान्यता छ ।

कार्यक्रम अन्तर्गत बालबालिकालाई कात्तिक २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विराटनगर सोमबारेहाटस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा स्वर्णबिन्दु खुवाइने छ ।

डा. चौधरीका अनुसार एक बालबालिकालाई हरेक महिनामा एकपटक स्वर्णबिन्दु खुवाउनु पर्ने र यसको पूर्ण मात्रा १२ डोजको हुने बताइएको छ । कार्यक्रममा विराटनगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरूको उपस्थिती रहेको थियो ।

Add a Comment