श्रीपुरमा भीषण आगलागी, पाँच परिवारका १० घर जलेर नष्ट, ६० लाखको क्षति

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिका–६, श्रीपुरस्थित यादवटोलमा बिहीबार साँझ भीषण आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय बासिन्दाका अनुसार आगलागी गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउनका लागि बालिएको आगोबाट सुरु भएको थियो। उक्त आगो झिङ्गा धपाउने घुराबाट निस्किएर फैलिँदा पाँच परिवारका सात वटा घर र तीन वटा गोठसहित कुल १० वटा संरचना पूर्णरूपमा जलेर नष्ट भएका हुन्।

आगलागीमा बाबुनन्द गोइत, रमानन्द यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर पूर्णरूपमा जलेका छन्। बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले उहाँको एक लाख रुपैयाँ नगद, एक मोटरसाइकल र एक साइकलसहित घरभित्र रहेका फर्निचर, सुनचाँदी र अन्य सामग्री जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीका अनुसार, आगलागीले ठूलो मात्रामा निजी सम्पत्तिमा क्षति पुर्‍याएको छ। आगलागी नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीयवासी र पाँच वटा पालिकाबाट आएका बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी निरीक्षक जयकुमार महतोका अनुसार आगो निभाउन कोशी गाउँपालिका, रामधुनी नगरपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका र बराहक्षेत्र नगरपालिकाबाट बारुणयन्त्र मगाइएको थियो।

साउन महिनाको झरीबीच आएको यो आगलागीले गाउँमा ठूलो क्षति पुर्‍याएको छ। घटनाको थप अनुसन्धान र पीडितलाई राहत उपलब्ध गराउने प्रयास भइरहेका छन्।