विराटनगरमा ७ लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ
बिराटनगर/ स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो करिब २ बजे विराटनगर महानगरपालिका–१५ स्थित हनुमान मन्दिरनजिकबाट भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार श्रीवास्तवलाई चेकजाँच गर्दा उक्त रकम फेला परेको हो।
श्रीवास्तवको साथबाट नेपाली ५ सय दरका ४ सय थान र १ हजार दरका ५ सय थान नोटसहित कुल ७ लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। उनले उक्त रकम कहाँबाट ल्याएको भन्ने यकिन नभएको र हाल उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
पक्राउ परेका श्रीवास्तवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी निरिक्षक प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ भने बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।