May 25, 2025
जङ्गली च्याउ खाँदा २ जनाको मृत्य
इलाम। जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ पकाएर खाँदा बिरामी भएका इलामको माङ्सेबुङ गाउँपालिका–५ घर भएका २ जनाको आइतबार मृत्यु भएको छ।
प्रहरीका अनुसार माङ्सेबुङ–५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको मृत्यु भएको हो। च्याउ खाएका स्थानीय धनराज साङ्बाङ गम्भीर बिरामी परेका छन्।
माङ्सेबुङ गाउँपालिका प्रमुख हेमन्त राईका अनुसार सूर्योदय नगरपालिकाको अन्तुमा काम गर्न गएका उनीहरुले जङ्गलबाट संकलन गरेर ल्याएको च्याउ खाएका थिए।
खाएको केही समयपछि पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिएको थियो। प्रहरीका अनुसार उपचारका लागि अस्पताल लगिएकामा २ जनाको मृत्यु भएको हो।
झापाको दमकस्थित दमक अस्पतालमा मृतकहरुको पोस्टमार्टम भइरहेको गाउँपालिका प्रमुख राईले सरल पत्रिकालाई जानकारी दिए। पोस्टमार्टमपछि शव आफन्तको जिम्मा दिने तयारी भइरहेको उनले बताए।