‘के घर के डेराः घर नं २’ जेठ २ गतेदेखि प्रदर्शनमा, सिक्वेल नभई नयाँ कथा लिएर आउने
काठमाडौं / निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको नयाँ नेपाली सिनेमा ‘के घर के डेराः घर नं २’ आउँदो जेठ २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। केही दिनअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ उत्सुकता जगाएको छ। टिजरले चर्चित सिनेमा ‘पशुपतिप्रसाद’ को झल्को दिएको प्रतिक्रिया दर्शकबाट आइरहेका छन्।
सिनेमाको नामले यसलाई दुई वर्षअघि रिलिज भएको ‘के घर के डेरा’ को सिक्वेल जस्तो देखिए पनि निर्देशक खनालले यो सिनेमा सिक्वेल नभएको स्पष्ट पारेका छन्। “यो के घर के डेराको सिक्वेल होइन,” निर्देशक खनाल भन्छन्, “घर र डेराको प्रसंग सिनेमामा छ, तर कथा र प्रस्तुति पूर्णतः नयाँ छ।”
कमेडी फ्लेभरमा निर्माण भए पनि यो सिनेमा सामाजिक नाटक (सोसल ड्रामा) भएको खनालले बताए। “यो मेरो पहिचान झल्किने सिनेमा हो,” उनले थपे, “यो सिनेमा मार्फत म फेरि आफ्नो मनपर्ने सामाजिक कथामा फर्किएको छु।”
सिनेमाको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले यसमार्फत पहिलो पटक स्क्रिप्ट लेखनमा हात हालेका छन्।
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय रहेको छ।
‘के घर के डेराः घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण भएको हो। सिनेमाका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी युवराज कार्कीले लिएका छन्। सिनेमाको छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।