नवलपरासीमा बाबुआमाको लापरवाहीले ४ महिनाको शिशुको ज्यान गयो
विराटनगर / नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–१ अर्मलेमा मादक पदार्थ सेवन गरेका बाबुआमाले चार महिनाको शिशुलाई लछारपछार गर्दा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार स्थानीय दीपेन्द्र परियार र उनकी श्रीमती कमला परियारले सोमबार राति मदिरा सेवनपछि शिशुलाई कुटपिट गरेका थिए। गम्भीर घाइते अवस्थामा फेला परेका शिशुलाई स्थानीयले रामपुर अस्पताल, पाल्पा लगाएका थिए। तर, उपचारका क्रममा शिशुको ज्यान गएको डीएसपी नेपालले जानकारी दिए।
शिशुलाई घरको बरन्डामा गम्भीर घाइते अवस्थामा छाडिएको देखेपछि स्थानीयले उद्धार गरेका थिए। शिशुको हत्या अभियोगमा २१ वर्षीय दीपेन्द्र परियार र ३५ वर्षीया कमला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्थानीय सुकबहादुर नेपालीका अनुसार कमला परियार केही वर्षअघि दीपेन्द्रसँग दोस्रो विवाह गरी आएकी हुन्।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।